कोरोना कहरमा पुस्तकालय सेवा

कोरोना भाइरसको महामारीले अहिले विश्व नै आक्रान्त छ । कोरोना सङ्क्रमणका कारण लाखौंको संख्यामा मानवीय क्षति भैसकेको छ भने करोडौंको सङ्ख्यामा भाइरसबाट सङ्क्रमित रहेका छन् । भाइरसले नयाँ नयाँ स्वरूप लिँदै गएकोले सङ्क्रमण तीव्र गतिमा बढदै जाने विज्ञहरूको भनाइ रहेको पाइन्छ । विश्वका अधिकांश देशहरूले बन्दाबन्दी (लकडाउन) तथा निषेधाज्ञालाई सङ्क्रमण फैलनबाट कम गर्ने विकल्पको रूपमा अँगालेका छन् । बन्दाबन्दी तथा निषेधाज्ञालाई नेपालले पनि अँगाल्दै लामो समयसम्म विद्यालय तथा शैक्षिक संस्थाहरू, ट्युसन सेन्टर, सार्वजनिक पुस्तकालय तथा सङ्ग्रहालय आदि बन्द नै हन गए ।

देशका शैक्षिक संस्थाहरू लामो समयसम्म बन्दका कारण बालबालिकाहरूको सिकाइमा प्रत्यक्ष प्रभाव परेको छ । पछिल्लो समय सङ्क्रमणको दर घट्दो अवस्थाले गर्दा केही खुकुलो भएता पनि मनोवैज्ञानिक त्रास कायमै छ । यस्तो अवस्थामा विद्यालय खोल्दा भाइरसले बालबालिका माथि महामारीको स्वरूप लिन सक्छ । यस यथार्थलाई आत्मसात् गर्दै सरकारले तुरुन्त विद्यालयहरू प्रत्यक्ष रूपमा खेलेर पठनपाठन कार्य गर्ने प्रयास गरेता पनि पुनः बन्द हुने सम्भावना उत्तिकै छ ।

विद्यालय बन्द भएको अवस्थामा पुस्तकालयहरूमा गएर पढ्ने पनि विकल्प छैन् । अमेरिकाको एक अध्ययनमा पुस्तक लगायतका अध्ययन सामग्रीहरूमा छ दिन भन्दा बढी समयसम्म भाइरस रहेको तथ्य देखाउँछ । पुस्तकालयका सामग्रीहरू प्रयोग गर्दा पाठकहरूको मुखको नजिकै हुने र पुस्तक छोएको हातले नाक, मुख, आँखा आदि छोइन हुँदा भाइरस सर्ने सम्भावना बढी हुन्छ । अर्कोतिर पुस्तकालय तथा विद्यालय धेरै मानिसहरूको जमघट हुने ठाउँ भएकाले पनि सङ्क्रमणको उच्च जोखिम देखिन्छ । त्यसैले औपचारिक तथा अनौपचारिक शिक्षाको माध्यमबाट बालबालिकाको भविष्यको गोरेटो निर्माण गर्ने विद्यालय तथा पुस्तकालय पनि लामो समयसम्म बन्दको प्रभावमा पर्न बाध्य भएका छन् ।

सरकारले बालबालिकाको सिकाइमा परेको प्रभावलाई न्यूनीकरण गर्नका लागि वैकल्पिक अध्ययन–अध्यापनका माध्यम अवलम्बन गरेकै हो । वैकल्पिक अध्ययन अध्यापनको माध्यमको रूपमा रेडियो, एफ.एम, टेलिभिजन, इन्टरनेट तथा सोसियल मिडियाको प्रयोग गरियो । कुनै समय बालबालिकाहरूलाई टि.भि., मोबाइल, कम्प्युटर, ल्यापटप चलाउन अभिभावकले नै निरुत्साहित गरेता पनि अहिले समय ठिक उल्टो भएको छ । अभिभावकले नै त्यस्ता सामग्रीहरू चलाउनका लागि प्रोत्साहन गर्नुपर्ने अवस्था आएको छ । बोर्ड मार्कर वा चकको भरमा अध्यापन गराई रहेका शिक्षकहरूलाई अनलाइनको माध्यमबाट अध्यापन गराउनु पर्ने बाध्यता आयो । इन्टरनेटजन्य सामाजिक सन्जालका फेसबुक, ट्वीटर आदिका लागि मात्र चलेका हाम्रा शिक्षक तथा प्राध्यापकका मोबाइलहरू आजभोलि जुम, टिम, वेबेक्स आदि जस्ता भर्चुअल मिटिङ् एप्लिकेसन चलाउन प्रयोग भैरहेका छन । यस्तो प्रविधिमैत्री अध्ययन अध्यापन सहरी क्षेत्रमा केही मात्रामा प्रभावकारी भए तापनि दूरदराजका बालबालिकाहरूका लागि कति व्यावहारिक र फलदायी भयो भन्ने कुरा विचारणीय छ ।

भाइरसको सङ्क्रमणको जोखिमलाई मध्यनजर राख्दै आन्तरिक मूल्याङ्कनबाट गरेका परीक्षामा विद्यालयले आफ्नो हात जगन्नाथ गरेको उदाहरण नतिजाले देखाएकै छ । सरकारले शैक्षिक सत्र नै गुमाउनु भन्दा यसैलाई विकल्पको रूपमा अगाडि सारेको हुनसक्छ । त्यसैगरी केही विश्वविद्यालय केही तहका परीक्षाहरू पनि वैकल्पिक माध्यमबाट नै गरेका छन् । यस्ता अवस्थामा आन्तरिक मूल्याङ्कन तथा वैकल्पिक परीक्षा प्रणालीलाई दुरुपयोग नगरी बालवालिकाको क्षमताको उचित मूल्याङ्कन गर्न सम्बन्धित निकाय नै जिम्मेवार हुनुपर्ने देखिन्छ । तथापि कोरोना भाइरसले समाजमा पारेको नकारात्मक प्रभावले शैक्षिक क्षेत्रलाई भने समयानुसार प्रविधिलाई अँगाल्नु पर्ने बाध्यता छ । जसलाई नकारात्मक प्रभावको सकारात्मक सन्देशका रूपमा पनि लिने गरिन्छ । नेपालजस्तो प्रविधिलाई पूरै अँगाल्न नसकेका मुलुकहरूलाई यो प्रविधिमैत्री हुने सुनौलो अवसर भएको मान्न सकिन्छ ।

शिक्षक तथा विद्यार्थीहरूलाई अध्ययन, अध्यापन तथा अनुसन्धानका लागि ज्ञान सामग्रीहरू आवश्यकता पर्दछ । जसका लागि उपयुक्त स्थान पुस्तकालय नै हो । जसलाई शैक्षिक संस्थाको मुटुको रूपमा पनि चित्रण गर्ने गरिएको छ । समाजमा ज्ञानको भण्डारका साथै सूचना सम्वाहकका रूपमा पनि काम गर्ने गर्छ । समाजमा ऐतिहासिक महŒवका सूचना सङ्कलन गर्ने र एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गरी चेतना वृद्धि गराउने माध्यम पुस्तकायल हो । कोरोना भाइरस महामारीको यस्तो विषम परिस्थितिमा पुस्तकालयमा गई अध्ययन, अनुसन्धान गर्न सक्ने अवस्था पटक्कै छैन । अध्ययन, अनुसन्धानकर्ताहरूलाई आवश्यक अध्ययन सामग्रीहरू उपलब्ध गराउने वैकल्पिक उपायको रूपमा अब ई–पुस्तकालयलाई लिनु पर्छ । यस विषयमा सम्बन्धित निकायहरूको बेलैमा ध्यान जानु आवश्यक छ ।

नेपालमा भएका पुस्तकालयहरूमध्ये सङ्कलन, पाठक सङ्ख्या तथा उपलब्ध सेवासुविधाका हिसाबले सबैभन्दा ठुलो त्रि.वि.केन्द्रीय पुस्तकालयले पनि आफूलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउन सकेको छैन । यस पुस्तकालयले २००३ देखि नै आफ्ना पाठकहरूलाई अनलाइन रिसोर्सेसहरूको सेवा दिन थालेको हो । तर त्यो सेवा आइ.पी. वेसमा भएकाले सम्बन्धित संंस्थामा नै जानुपर्ने बाध्यता पाठकहरूमा रहेको थियो । गत वर्षदेखि विश्वव्यापि रूपमा फैलिएको कोभिड–१९ को प्रभावले पुस्तकालयले भौतिक रूपमा पाठकहरूलाई अध्ययन सेवा प्रदान गर्न असमर्थ नै रह्यो । त्यसकारण, २०७७ मङ्सिरदेखि रिमोट एक्सेस ९च्झयतभ बअअभकक० सेवासहित प्रोक्वेस्ट ९एचयत्तगभकत० डाटावेस उपलब्ध गराउन सुरुवात गरेको छ । त्यसका साथै केन्द्रीय पुस्तकालयले एसियन डेभलपमेन्ट बैंक र नेसनल डिजिटल लाइब्रेरी अफ इन्डियासँग रिसोर्सेसहरू प्रयोग गर्नका लागि सम्झौता पनि गरेको छ । विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, अनुसन्धानकर्ताहरू यी करोडौको सङ्ख्यामा रहेका रिसोर्सेसहरू निःशुल्क प्रयोग गरी लाभान्वित हुन सक्ने भएका छन् ।

त्रिभुवन विश्वविद्यालयले यस्ता रिसोर्सेसहरू आफ्नो विश्वविद्यालयमा मात्र सीमित नराखेर देशव्यापी गराएको छ । अन्य विश्वविद्यालय, सामुदायिक क्याम्पस तथा कलेजहरूले पनि रिमोट एक्सेस मार्फत नै डाटाबेसहरू प्रयोग गर्न सक्छन् । करोडौंको संख्यामा रिसोर्सेसहरू रहेका डाटाबेसहरू प्रयोगमा सम्बन्धित संस्थाहरूलाई पनि अपनत्व महसुुस होस् भनी अत्यन्त न्यून शूल्क लिई इच्छुक संस्थालाई दिने निर्णय गरेको पाइन्छ । जसका लागि विश्वविद्यालयको हकमा एक लाख वार्षिक सदस्यता शुल्क र प्रति पाठक प्रयोग शुल्क वार्षिक दुई सय लाग्छ । साथै क्याम्पसको हकमा वार्षिक सदस्यता शुल्क पाँच हजार र प्रति पाठक प्रयोग शुल्क वार्षिक दुई सय लाग्ने छ । जसबाट नेपालका पाठकवर्गले अन्तर्राष्ट्रिय स्तरका पुस्तक तथा जर्नल, म्याग्जिनका लेखरचना घरैमा बसेर अध्ययन गर्ने सुविधा पाएका छन् ।

केन्द्रीय पुस्तकालय नितान्त सेवामूलक संस्था भएकोले आफ्नै आम्दानी अत्यन्त सीमित वा नगन्य नै रहेको हुन्छ । यो पुस्तकालय समयको परिवर्तनका साथै पाठकको मागअनुसार ई–पुस्तकालय सेवा प्रदान गर्नका लागि आर्थिक रूपमा आफै सक्षम देखिँदैन् । त्यसैगरी नेपालका अन्य पुस्तकालयहरूसँग पनि यो सामथ्र्य पाइँदैन । विभिन्न संस्थाको अनुदान सहयोग तथा दानदातव्यमा नै भर परी पाठकसेवा प्रदान गर्नुपर्ने बाध्यता रहेको छ । सीमित बजेटमा निरन्तर गुणस्तरीय ई–पुस्तकालय सेवा प्रदान गर्न अवश्य पनि चुनौतिपूर्ण कार्य हो । त्यसैले नेपालमा जति पनि ई‐रिसोर्सेसहरू खरिद गरिन्छ ती सबैलाई एकद्वार नीतिका आधारमा खरिद गर्ने नीति बन्नुपर्ने देखिन्छ । जसका लागि सरकारले निस्चित बजेटको व्यवस्था पर्दछ । यसबाट पाठकका आवश्यकता अनुसारका विश्वमा प्रख्यात् डाटाबेसहरू खरिद गरी देशभरिकै विद्वत् वर्गका माझ पु¥याउन सकिन्छ । जसले गर्दा विभिन्न संस्थाहरूले छुट्टाछुट्टै डाटाबेस खरिद गर्दा एउटै डाटाबेसका लागि देशबाट धेरै रकम विदेश जाने र सीमित पाठकले मात्र सेवा पाउने अवस्थाको अन्त हुन्छ ।

पुस्तकालयहरूको कमजोर आर्थिक अवस्था, योेग्य जनशक्तिको अभाव, तथा उचित स्रोत साधनको कमी आदि कारणले गर्दा नेपालका पुस्तकालयहरू पूर्ण रूपमा इलेक्ट्रोनिक पुस्तकालयमा परिणत हुन नसकिएको यथार्थता हामी माझ छँदै छ । यस्तो एकद्धार नीति लागु गर्न सकियो भने कोही पाठक तथा अनुसन्धानकर्ताहरू खोज तथा अन्वेषणका लागि सामग्री नपाएर भौतारिनु पर्ने हँुदैन । त्यसका साथै सम्पूर्ण डाटाबेसको नियन्त्रण एकै ठाउँबाट हुने हुदाँ दक्ष कर्मचारीको अभावका कारण गुणस्तरीय सेवा बञ्चित हुनु पर्दैनथ्यो । अब विदेशी डाटावेसको प्रयोग मात्र गर्ने होइन नेपालको पनि छुट्टै डाटाबेसको निर्माण गर्नु अत्यावश्य छ । विभिन्न संस्थाहरूले आफ्नो खोज तथा अनुसन्धान सामग्रीहरूलाई इनस्टिटुसनल रिपोजिटरी बनाई इलेक्ट्रोनिक सेवा प्रदानको सुरुवात गरेका छन् । ती सबै संस्थाका रिपोजिटरीहरूलाई एकीकृत गरी नेपालको डिजिटल पुस्तकालय निर्माण कार्य गर्न सकियो भने हाम्रा पाठकहरू अत्यन्त लाभान्वित हुने थिए । तर, बिडम्बना ! राष्ट्रको गौरवको रूपमा रहनुपर्ने नेपाल राष्ट्रिय पुस्तकालय २०७२ सालको भूकम्पपछि अहिलेसम्म बोरामा थन्किनुपरेको तीतो यथार्थ हामीसँग छँदै छ ।

पुस्तकालयले सूचनाको उचित व्यवस्थापन र वितरण गर्नका लागि अहिलेको पाठकको माग अनुसार इलेक्ट्रोनिक अध्ययन सामग्रीको प्रयोगलाई नै प्रोत्साहन गर्नुपर्छ । जसले पुस्तकालयको स्वरूप र सेवामा परिवर्तन ल्याउँछ । ई–पुस्तकालयका स्वरूपहरू नै भर्चुअल, कागजविहीन, पर्खालविहीन पुस्तकालय हुन् । अहिले पाठकहरू पुस्तकालयको दराजमा गएर पुस्तक खोजेर अध्ययन गर्न सक्ने अवस्था छैन त्यसको सट्टा खोजेको अध्ययन सामग्री घरमै बसेर इन्टरनेटको माध्यमबाट किबोर्ड थिचेको भरमा पढ्न पाउने व्यवस्था गर्न तिर पुस्तकालयहरू अभिलम्ब लाग्नु पर्दछ । अहिले विश्वमा एउटा समूह सूचनालाई निःशुल्क प्रदान गर्नुपर्छ भनेर लागेको पाइन्छ । त्यसैले डाटावेस खरिद गर्न नसकेता पनि इन्टरनेटमा निःशुल्क उपलब्ध हुने खुला प्रकृतिका डाटावेसहरू प्रयोगमा सहजीकरण गर्नुपर्दछ । त्यो नै पुस्तकालय तथा हामी पुस्तकालयकर्मीहरूको दायित्व हो । यो विपत्को बेलामा पाठकहरूको घरघरमा पुस्तकालय पु¥याउन सकियो भने मात्र पुस्तकालय सेवाको औचित्य र प्रभावकारिता बढ्नाका साथै बौद्धिक समाजमा पनि पुस्तकालयकर्मीहरूको उच्च सम्मान हुन सक्छ ।

रत्न पुस्तकालय, बानेश्वरबाट २०७८ मा प्रकाशित पूजा ९वार्षिक मुखपत्र० पूर्णाङ्क ३१ मा २०७८ कार्तिक १८ मा प्रकाशित लेख ।