विश्वविद्यालयको साख र बौद्धिक चोरीको निरूपण

त्रिभुवन विश्वविद्यालयले साहित्यिक चोरी कम गर्न सफ्टवेयर प्रयोग गर्ने चर्चा चलेपछि बौद्धिक (साहित्यक) चोरी के रहेछ भन्ने खुल्दुली लेखन क्षेत्रमा देखा परेको छ । मनको खुल्दुली मेटाउनका लागि सबैभन्दा सजिलो माध्यम गुगलको सहयोग लिएर ‘ह्वाट इज प्लेजारिजम’ भनेर सर्च गर्दा गुगलले चौध करोडभन्दा बढी रिजल्ट सामुन्नेमा प्रस्तुत गर्दा यस विषयको व्यापकता र नेपालका सन्दर्भ छक्क पर्ने नै देखियो । ती रिजल्टमध्ये एक–दुईवटा लिङ्क क्लिक गरेर हेर्दा ‘प्लेजारिजम’ शब्द ल्याटिन भाषाको प्लेजियारुसबाट आएको स्पष्ट भयो । यसलाई युरोपमा अठारौँ शताब्दीदेखि नै आपराधिक पक्ष मान्दै आएको पनि जानकारी भयो ।

सोद्देश्य (जानी–बुझी) वा अन्जानमा अरूको भाषा, विचार, उपाय, काम, शैली आदिको अधिकांश भाग नक्कल गरी आफ्नो लेख, रचना वा मौलिक कृतिमा समावेश गर्नु या सो अनुसार विकास गरी सार्वजनिक गर्नु नै साहित्यिक चोरी हो । अर्कोको भनाइको प्याराग्राफ जस्ताको तस्तै उत्तार गर्ने, सन्दर्भ नदेखाउने, कोटेसन चिह्नभित्र नराख्ने, अनुवाद गरी आफ्नो नाममा प्रकाशन गर्ने, आफ्नै पूर्वप्रकाशित कार्यहरू पुनः नयाँ कृतिका रूपमा प्रस्तुत गर्ने आदि बौद्धिक चोरीका आधार रहेछन् भन्ने पनि यस सन्दर्भबाट ज्ञात भयो । यसलाई व्यावहारिक रूपमा अनैतिक कार्य र कानुनी भाषामा साहित्यिक चोरी वा अपराधकै संज्ञा दिइने रहेछ ।

सामान्यतया साहित्यिक चोरी विद्वत् वर्गबाट हुने अपराध हो । जुन अपराध उच्च राजनीतिज्ञ तथा विश्वविद्यालयका प्राज्ञिक व्यक्तिहरूबाटै भएका उदाहरण धेरै नै देखिन्छन् । त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको दीक्षान्त समारोहमा दिइने भाषणमा समानता आएको विषयले व्यापकता पाएकै हो । टर्किस लेखक फेरिट किलिक्कायाको लेख हुबहु सारेर जर्नल अफ नेल्टामा आफ्नो नाममा प्रकाशन गरेको आरोप त्रि.वि.का पूर्वउपकुलपतिले खेप्नै प¥यो । मिलानियम ट्रप्पको भाषण मिसेल ओबामाको भाषणसंँग सामग्री र ढाँचा मिलेको समाचारले मिडियामा छाएकै हो ।

विश्वविद्यालयका शोधपत्रहरू एक क्याम्पसको अर्को क्याम्पसमा बुझाउने, अर्काको शोधपत्रमा सामान्य परिवर्तन गरी आफ्नो नाममा बुझाउने शोधकर्ताहरूमा रोगको रूपमा नै रहेको देखिन्छ । त्यति मात्र होइन, विश्वविद्यालयबाट अनुदान प्राप्त गरेर गरिएका अनुसन्धानसमेत अर्कोको सारेर बुझाउने र विश्वविद्यालयबाट अध्येताको उपाधि धारण गर्ने परम्परा पनि नौलो देखिँदैन । त्रिभुवन विश्वविद्यालयका प्राध्यापकले फ्रान्सका प्राध्यापक आरमेली वेलका अनुसन्धानात्मक लेखमा आफ्नो नाम राखी प्रकाशन गरेको आरोपमा छानबिनपछि संलग्न एक प्राध्यापकसहित सातजना विभागीय कारबाहीमा गरेको तथ्य विश्वविद्यालयमा ताजै छ ।

विश्वविद्यालयजस्तो प्राज्ञिक क्षेत्रमा अनुसन्धान कार्यको महत्वपूर्ण भूमिका देखिन्छ । उच्च शिक्षामा गरिएका अनुसन्धानहरू आफ्नै मौलिकताभन्दा पनि आयातीत हुन थालेको चिन्ता मात्र नभई रोगको रूपमा फैलिएको छ । एक वर्षको अनुसन्धान बिदा उपयोग गरेर अन्तिममा पुस्तकालयमा आई ‘बिदा सकिन लाग्यो, केही गरेको छैन’ भन्दै पुराना रिपोर्टहरू हेर्न खोज्ने बौद्धिक जगत् धेरै नै पाइन्छ । यस्तो बौद्धिक जगत्बाट विश्वविद्यालयले कस्तो अनुसन्धान परिणामको अपेक्षा गर्ने ? र, कहिलेसम्म अनुसन्धान अनाचरण गरेर विद्वान् कहलिने वातावरण बनाउने भन्ने प्रश्न अहिले व्यापक बनेको छ ।

विकसित देशका विश्वविद्यालयहरूले असाइनमेन्टमा पनि ‘प्लेजारिजम’ परीक्षण गर्ने व्यवस्था गरेको देखिन्छ । जसले गर्दा विश्वविद्यालयको प्राज्ञिक गुणस्तर वृद्धि हुनुका साथै देशमा अध्ययन, अनुसन्धान, अन्वेषणको वातावरण विकास भएको पाइन्छ । छिमेकी देश भारतको विश्वविद्यालय अनुदान आयोगले साहित्यिक चोरी रोक्नका लागि विनियम लागू गरेको छ । जसमा शोधपत्र तथा अनुसन्धान कार्यमा १० प्रतिशतसम्म अन्य स्रोतसँग मिल्न गएमा पनि स्वीकार गर्ने व्यवस्था गरिएको छ । त्यसै गरी ४० र ६० प्रतिशतसम्म मिल्न गएको अवस्थामा क्रमशः सुधारका लागि ६ महिना र १ वर्षसम्मको अवधि दिइन्छ भने ६० प्रतिशतभन्दा बढी साहित्यक चोरी भएमा सोही कार्यक्रमबाट नै रद्द गर्ने व्यवस्था छ । नेपालमा विश्वविद्यालय अनुसन्धान आयोगले अनुसन्धान अनाचरणसम्बन्धमा नीति जारी गरेको छ । यसमा कसुरको गाम्भीर्यका आधारमा स्पष्टीकरण, चेतावनी, क्षमायाचना, अनुदानमा प्रतिबन्ध, अनुदान रकम फिर्ताजस्ता कारबाही गर्न सक्ने व्यवस्था गरेको छ ।

इन्टरनेटको दुरुपयोग गर्दै विदेशी पुस्तक तथा लेख–रचना हुबहु अनुवाद गरी आफ्नो नाम राखेर, प्रकाशन गरी कृति मूल्याङ्कनका लागि सेवा आयोगमा पेस गर्ने होस् वा फोटोकपी सेन्टरमा तयार हुने विज्ञ समीक्षित जर्नल प्रकाशन हुने कार्यले विश्वविद्यालयको नै साख गुम्दै गइरहेको सुनिन्छ । जसको निरुपणका लागि त्रिभुवन विश्वविद्यालयले हाल टर्निटिङ कम्पनीको इथेन्टिकेट सफ्टवेयर लागू गरेको छ । जुन सफ्टवेयर एक वर्षमा २२,५०० डकुमेन्ट परीक्षणका लागि ६ हजार युजर आई.डी. मात्र खरिद गरेको छ । तर यो संख्या विश्वविद्यालयका लागि पर्याप्त नभए तापनि पहिलोपटक कार्यान्वयनमा आएकोले स्वागतयोग्य नै छ ।

त्रिभुवन विश्वविद्यालयले सफ्टवेयरको खरिदसँगै ‘प्लेजारिजम’को सञ्चालन र व्यवस्थापनको निर्देशिका जारी गरेको छ । निर्देशिकाले सफ्टवेयरको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी केन्द्रीय पुस्तकालयलाई दिएको छ । विश्वविद्यालयका आङ्गिक क्याम्पस, अनुसन्धान केन्द्रलगायत प्रत्येक निकायहरूलाई आवश्यकताअनुसार युजर आई.डी. वितरण गरिसकेको छ । आई.डी. वितरणमा प्रत्येक डिन कार्यालयलाई कम्तीमा दशवटा र क्याम्पस तथा अन्य निकायलाई कम्तीमा पाँचवटा आई.डी. दिइने नीति बनाएको छ ।

विश्वविद्यालयमा विद्यावारिधि, दर्शनाचार्य र अनुसन्धानात्मक लेखहरूको अनिवार्य ‘प्लेजारिजम’ परीक्षण गर्नुपर्नेछ । त्यसै गरी स्नातकोत्तर तहमा सम्बन्धित डिन कार्यालयलाई निर्णय गर्ने अधिकार दिएको छ । अन्य विश्वविद्यालयबाट डिग्री प्राप्त गरी त्रिभुवन विश्वविद्यालयमा समकक्षता लिनका लागि पनि अब अनिवार्यरूपमा ‘प्लेजारिजम’ परीक्षण हुनेछ ।

निर्देशिकाले शोधपत्र, लेख–रचनामा साहित्यक चोरी स्वीकार गर्ने÷नगर्ने आधार तथा मापदण्ड निर्धारण गरेको छ । जसमा पृष्ठभूमि, परिचय, पूर्वसाहित्यको अध्ययन, अध्ययन विधि आदि भागमा कम्तीमा २५ प्रतिशतभन्दा कम अन्य स्रोतसँग मिल्ने भए तापनि स्वीकार गर्ने व्यवस्था छ । त्यसै गरी सारांश, प्राप्ति, सुझाव आदि भागमा १० प्रतिशतभन्दा कम अन्य स्रोतसँग मिल्ने भएमा पनि स्वीकार गर्नेछ । अर्थात् अन्य स्रोतसँग समग्रमा २० प्रतिशतभन्दा कम मिलेका शोधपत्र तथा अनुसन्धानात्मक कार्य स्वीकारयोग्य हुनेछ ।

त्रिभुवन विश्वविद्यालयले साहित्यक चोरीसम्बन्धी विवादित विषयमा शिक्षाध्यक्षले विज्ञसहितको समिति गठन गर्नसक्ने प्रावधान रहेको छ । विश्वविद्यालयमा प्लेजारिजमको प्रयोगलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्दै गर्दा छुट्टै कार्यविधि लागू गर्ने योजना पनि रहेको छ । कार्यविधिको कार्यान्वयन गर्ने क्रममा मातहतका निकायहरू सक्रिय बनाउँदै प्रत्येक निकायमा एउटा ‘प्लेजारिजम’ परीक्षण युनिट गठन गरी अझ प्रभावकारीरूपमा कार्यान्वयन गर्ने नीति अख्तियार गरेको छ । जुन नीतिले साहित्यिक चोरी भएका बौद्धिक सामग्रीहरूलाई अस्वीकृत गरी डिग्री रद्द गर्नेसम्मको प्रावधानको सम्भावना देखिन्छ । जुन प्रावधानले साहित्यक चोरीका कारण खस्कँदै गइरहेको विश्वविद्यालयको साख पुनः उच्चतम विन्दुतिर लाग्ने सम्भावनालाई नकार्न सकिँदैन ।

त्रिभुवन विश्वविद्यालयको सञ्जाल देशका ७६ वटा जिल्लामा विस्तार भएको छ । जहाँ एकै वर्षमा हजारौं संख्यामा उच्च शिक्षा हासिल गर्दछन् । उच्च शिक्षासँगै विश्वविद्यालयमा अधिकांश कार्यक्रममा शोधपत्रलाई अनिवार्य बनाइएको छ । जुन शोधपत्रहरूलाई सफ्टवेयरबाट परीक्षण गर्ने प्रावधान राख्न आवश्यक छ । त्यसैले केन्द्रीय पुस्तकालयमा रहेका करिब बीस हजार सफ्टकपी शोधपत्रहरूमध्ये चार हजार डिजिटाइजेसन गरी सकेको छ भने बाँकी पनि अपलोड गर्ने कामलाई तीव्रता दिएको छ । अन्य हाडर््कपीका रूपमा रहेका हजारौं शोधपत्रहरू पनि विश्वविद्यालयले छिट्टै डिजिटाइजेसन गर्ने योजना रहेको छ ।

विश्वविद्यालयले तयार गरेको डिजिटल लाइब्रेरीमा आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूले पनि शोधपत्रहरू आफ्नै निकायबाट अपलोड गर्न सकिने प्रावधान छ । जसबाट त्रिभुवन विश्वविद्यालयको एउटा छुट्टै डिजिटल पुस्तकालय निर्माण हुनेछ भने एक क्याम्पसबाट अर्को क्याम्पसमा शोधपत्रहरू बुझाउने तथा चोरी गर्ने सम्भावना न्यून हुँदै जानेछ । जसबाट विश्वविद्यालयले प्रदान गर्ने उत्तीर्णताको प्रमाणपत्रका साथै त्यसको औचित्यमाथि उठाउँदै गइरहेको प्रश्नमा पूर्णविराम लगाउनेछ भन्ने आशा गर्न सकिन्छ । विकासशील देश अहिले नै विकसित देशको तुलनामा जान नसके तापनि सफ्टवेयरको सहायताले प्राज्ञिक उन्नयनका लागि साहित्यिक चोरी रोकथाममा लागिपर्नुपर्ने बाध्यतामा रहेको देखिन्छ । अर्कोतिर नेपाली भाषामा प्रकाशन भएका लेख–रचनाहरू परीक्षण गर्ने सफ्टवेयर नबनिसकेकोले हाम्रा केही अनुसन्धानहरू सफ्टवेयरको नजरबाट पनि टाढै रहने अवस्था छ । त्यसैले बौद्धिकताको परीक्षण सफ्टवेयरको प्रयोग तथा कानुनको आधारमा मात्र भर पर्ने भन्दा पनि इमानदारपूर्वक अनुसन्धानमूलक शैक्षिक लेखन गर्नतिर प्राज्ञिक जगत्लाई चेतनशील बनाउने तथ्यलाई नकार्नुहुँदैन । जुन तथ्य बढी सान्दर्भिक र दीर्घकालीन पनि देखिन्छ ।

भर्खर प्रकाशित टाइम्स हाइयर एजुकेसन वल्र्ड युनिभर्सिटी रेन्किङ २०२२ मा विगतमा जस्तै विश्वका ८०१ देखि १००० भित्र त्रिभुवन विश्वविद्यालय परेको छ, जुन देशकै लागि गर्वको कुरा हो । त्यो भन्दा पनि खुसीको कुरा, त्रिभुवन विश्वविद्यालय अनुसन्धानमा साइटेसन रेन्किङ विश्वका ४६१ विश्वविद्यालयमा परेको छ । त्रिभुवन विश्वविद्यालयले व्यवस्था गरेका रिमोट एक्सेस सेवासहितको प्रोक्वेट डाटाबेस तथा बौद्धिक चोरी रोकथामका लागि सुरु गरेको इथेन्टिकेट प्लेजारिजम सफ्टवेयरको प्रयोगले आगामी दिनमा अनुसन्धानमा उच्च स्थान हासिल गर्ने अपेक्षा गर्न सकिन्छ । विश्वभरि साहित्यिक चोरीका कारण खारेजीमा परेका लेखहरूको सङ्ग्रह गर्ने ‘रिट्रयाक्सन वाच वेबसाइट’मा नेपालका लेख–रचनाहरूले सार्वजनिकीकरण हुने स्थान नपाऊन् भन्ने आशा गरौं ।